Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

दलित महिला अधिकार मञ्चद्धारा सेफ हाउसमा आवश्यक सामाग्री सहयोग

  July 20, 2020

कैलालीको गौरीगंगा नगरपालिकामा यही ११ वैशाखदेखि हिंसा प्रभावितहरुका लागि सेफ हाउस सञ्चालनमा आएको छ। कोभिड–१९ (कोरोनाभाइरस) का कारण मुलुक बन्दाबन्दी भएको बेला हिंसा प्रभावितहरुलाई सुरक्षित अवासका लागि विभिन्न संघसंस्थाको पहल र गौरीगंगा नगरपालिकाको सहकार्यमा उक्त सेफ हाउस स्थापना भएको हो।

सेफ हाउस स्थापना भएदेखि नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले प्रभावितले नयाँ जिन्दगी नै पाएको अनूभति गरेको सुनाइन् । उनले हिंसा प्रभावितहरुलाई कहाँ राख्ने भन्ने चिन्ताबाट मुक्त भएको बताइन्।

दलित महिला अधिकार मञ्च नेपालद्वारा सेफ हाउसलाई आवश्यक सामग्री वितरण कार्यक्रममा उनले यस्तो बताएकी हुन्। घरमा बस्ने वातावरण नभएका महिलाहरुलाई सेफ हाउस स्थापना भएपछि राहतको अनुभूति भएको छ।

उनले भनिन्, “घटना भइसकेपछि प्रभावितहलाई तत्काल उद्धार गरेर व्यवस्थित ठाउँमा राख्न पाउँदा एकदमै सहज भएको छ।

यसलाई व्यवस्थित बनाएर जिल्लाभरिका हिंसा प्रभावितहरुलाई सेवा दिन सक्ने बनाउनुपर्छ ।” लगभग डेढ महीनाकै अवधिमा १८ जना प्रभावितहरुले सेवा लिइसकेको उपप्रमुख चौधरीले बताइन्।

नगरपालिकाले सेफ हाउसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न नगरसभाबाट पास गरी नीति तथा कार्यक्रममा राखिएको छ।

दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरेले सेफ हाउसलाई व्यवस्थित बनाउन आवश्यक सामग्री हस्तान्तरण गरेको बताइन्।

उनले डीसीएको आर्थिक सहयोगमा संस्थाले ६ सेट ९डस्ना, तन्ना, तकिया० बिस्तरा, ६ लिटर सेनिटाइजर, २०० थान पन्जा, २०० थान मास्क, ६ थान सेम्पु, ११ थान गर्भवती जाँच किट, ६ थान तौलिया र १ थान टीभी हस्तान्तरण गरेको बताइन्।

साथै संस्थाले दुई महीनाको घर भाडा र ६ महीनाका लागि एकजना परामर्श दाता (काउन्सिलर) दिएर सहयोग गरेको बताइन्।

बन्दाबन्दीको बेला महिला हिंसाका घटनाहरु एकदमै बढ्न थालेपछि ओरेक कैलाली र गौरीगंगा नगरपालिकाको सहकार्यमा उक्त सेफ हाउस स्थापना भएको थियो । सो सेफ हाउसलाई निरन्तरता दिन दलित महिला अधिकार मञ्च नेपालले पनि सहकार्य गरेको अध्यक्ष घिमिरेले जानकारी दिइन्।

उक्त सेफ हाउसमा कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका महिला तथा बालबालिकाहरुले सेवा लिएका छन्।