Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

महिला हिंसाका घटनाको समयमै सुनवाई नहुँदा पिडा माथि झन पिडा भोग्दै महिला 

  October 6, 2023

धनगढी, १८ असोज । कैलालीमा महिला हिंसाका घटना बढिरहेका छन् । धेरै महिला हिंसाका घटना कानुनी प्रक्रिया सम्म पुग्दैनन् । सबै पीडित खुलेर बाहिर आउन चाहादैनन त्यसमा पनि कानुनी प्रक्रियामा जाने त झन् निकै कम हुन्छन् । गइहाले पनि कानुन र अदालत सम्म पुग्ने मुद्दाको फैसला आउन धेरै समय कुर्नु पर्ने अवस्था छ । जसका कारण पिडा माथि झन् पिडा भोगिरहेका छन् महिलाहरू । महिला हिंसा विरुद्धको

कानुन कार्यान्वयनको अवस्था समाधानका उपाय सम्बन्धि एक संवाद कार्यक्रममा बोल्दै अधिवक्ता ओम प्रकाश अर्यालले धेरै मुद्दा सीमित जनशक्तिले हेर्नु पर्ने भएकाले यस्ता घटनामा अदालती प्रक्रिया ढिलाइ हुने गरेको बताए । उनले भने ”जनशक्ति सीमित हुन्छ मुद्दा धेरै हुन्छ । कम जनशक्तिले धेरै काम हेर्नु पर्ने भएकाले समयैमै अदालती प्रक्रिया अघि बढ्न नसकेको हो ।”

सामाजिक, राजनीतिक, आर्थिक लगायतका सबै क्षेत्रमा महिलाहरूले हिंसा भोग्दै आएका छन् । तर हिंसा भोग्ने महिला मात्रै नभएर कतिपय अवस्थामा पुरुषहरू समेत हिंसामा पर्दै आएको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष साबित्रा घिमिरे बताइन । उनले भनिन  ”हामी सोच्छौ हिंसा महिलाले मात्र भोग्छन् तर त्यसो होइन कतिपय अवस्थामा पुरुषहरू पनि  हिंसाको सिकार बन्दै आएका छन् । तर हाम्रो समाजमा रहेको विद्यमान पितृसत्तात्मक सोचका कारण हिंसामा परेका पुरुषहरू बाहिर आउन नसकेका मात्र हुन ।”

कैलालीमा हिंसाका घटना बढीरहेपनि गत वर्षको तुलनामा जबरजस्तिकरणको घटना भने यो वर्ष कम दर्ता भएको  महिला तथा बालबालिका सेलका इन्चार्ज सरस्वती अधिकारीले बताइन । उनले भनिन ”गत वर्ष हामिकाहा ११४ वटा जबरजस्तिकरणको मुद्धा दर्ता भएका थिए । यो वर्ष घटेर ८७ मा झरेको हुँदा केही उपलब्धि भएको  र नारिकमा पनि चेतना पढेको छ ।”

डी सी ए नेपालको आर्थिक सहयोगमा दलित महिला अधिकार मञ्च नेपालको आयोजनामा गरेको कार्यक्रममा महिला माथि हुने सबै प्रकारको हिंसा विरुद्धको कानुन कार्यान्वयनको अवस्था के कस्तो छ र आगामी दिनमा कानुन कार्यान्वयनका लागी के गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित निकाय सगं छलफल गरिएको थियो ।