यस बर्षको प्रा.डा. ‘शान्ता थपलिया सशक्तिकरण सम्मान’ मानव अधिकारकर्मी साबित्रा घिमिरेलाई

१ भाद्र २०८१, शनिबार
१ भाद्र २०८१, शनिबार,बागमतीसमाचार
काठमाडौ । यस वर्षको प्रा.डा शान्ता थपलिया सशक्तिकरण सम्मान मानव अधिकारकर्मी सावित्रा घिमिरेलाई प्रदान गरिएको छ। घिमिरे सुदुरपश्चिम प्रदेश, धनगढी स्थित दलित महिला अधिकार मन्चको अध्यक्ष हुन् । घिमिरेले समाजमा जातिय र लैंगिक हिंसाको विरुद्ध बिभिन्न कार्य गरेकी छन्। दलित महिला सशक्तिकरण र राज्यका बिभिन्न संरचनामा उनिहरुको प्रतिनिधित्व मार्फत समावेशी शासनको वकालत गर्दै आएकी घिमिरेले अवार्डले आफूलालाई थप जिम्मेवार बनाएको बताइन्।
महिला तथा बालबालिकाको न्यायमा पहुँचका लागि ३८ वर्ष अगाडि स्थापना गरिएको संस्था कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) को स्थापना दिवसको अवसरमा शनिवार आयोजित एक कार्यक्रममा घिमिरेलाई यो सम्मान प्रदान गरिएको हो । कार्यक्रममाा प्रमुख अतिथी राष्टिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला अधिकारको क्षेत्रमा कानूनी सहायता परामर्श केन्द्र (ल्याक) ले महत्वपूर्ण काम गरेको बताइन् । महिला बालबालिकाको क्षेत्रमा कार्यरत कतिपय संस्थाले समस्या मात्रै देखाउने भएपनि ल्याकले भने पैरवी मार्फत कानूनी सहायता गरेको बताइन् । प्रभावितहरुलाई न्याय निरुपणमा प्रत्यक्ष संलग्न भएर ल्याकले परिणाममुखी काम गरेको भन्दै संस्थाको प्रशंसा समेत गरिन् । सोही कार्यक्रममा अर्का अतिथी प्राध्यापक डाक्टर सावित्री कक्षपतिले डाक्टर शान्ता थपलियाले सुरु गरेको उक्त संस्था महिलाकै नेतृत्वमा यहाँसम्म आएकोमा खुसी व्यक्त गरिन् ।
यसैगरी ल्याककी अध्यक्ष अनिता थपलियाले सरकारी तथा गैरसरकारी निकायसँग चुस्त समन्वय गर्न सकेका कारण ल्याकले प्रभावितहरुको पक्षमा काम गर्न सहज भएको बताइन् । महिला तथा बालबालिकालाई कानूनीरुपमै सहयोग गर्ने विषय आफैमा चूनौतिपूर्ण रहेको भन्दै उनले आगामी दिनमा प्रभावितहरुको पक्षमा काम गर्न सबैको सहकार्य आवश्यक रहेको बताइन् ।