खुल्ला जुवा तास र जाँड रक्सीले घरेलु हिंसा बढ्दो, न्यूनिकरणको लागि गाउँपालिकासंग गुहार
हसुलिया, १५ मंसिर । कैलारी गाउँपालिका वडा नम्बर(४ को दलित बस्तीमा खुल्ला जुवा तास र जाँड रक्सीले घरेलु हिंसा बढ्दै गएकोे भन्दै स्थानीय महिलाहरूले चिन्ता व्यक्त गरेका छन् ।
स्थानीय तहमा उपलब्ध सेवा र सुविधा सम्बन्धमा जनप्रतिनिधिसंगको अन्तरक्रिया कार्यक्रममा महिलाहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा जनजागृति समूहका सदस्य उर्मिला परियारले कैलारी गाउँपालिकाका कर्मचारीलाई जात भात नछुट्याई समान व्यवहारले नीति कार्यक्रम लागु गर्न आग्रह गरिन् । उनले दलित बस्तीका महिलाहरूका लागि मानवीय विकासको छुट्टै नीति ल्याउन पनि माग गरिन् ।
बोल्नेको मात्रै आवाज सुनिने समाजमा दलित महिलाहरू अरु समुदाय भन्दा पछाडी रहेकै कारण उनीहरूका आवाज बाहिर आउन नसकिएको उर्मिलाको भनाइ थियो ।
‘दलित समुदायका अधिकांश बेरोजगार युवाहरू दिनभरी जुवा तास, जाँड रक्सीमा दिन बिताउँछन् । अनि घर पुगेर श्रीमतीमाथि गाली र कुटपिट गरिरहेका छन्’ उनले सुझाव दिइन्, ‘यस्ता अभद्र व्यवहार खाले परिवर्तनका कार्यक्रम गाउँपालिकाले लागु गर्नुपर्यो ।
उज्यालो समूहकी सदस्य आरती तिरुवाले स्थानीय गरिमा प्राविका शिक्षकहरूले आफूहरुले तलब नपाएको भन्दै विद्यालयको पठनपाठनमा ध्यान नदिदा स–साना बालबालिकाको भविष्य बिग्रदै जाने चिन्ता व्यक्त गरिन् ।
उनले सडक सञ्जाल र भवन निर्माणसंगै महिलाहरूलाई सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउँने खालका कार्यक्रम सञ्चालन गर्न पनि सुझाइन् ।
कार्यक्रममा कैलारी गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष भिखराम चौधरीले गाउँपालिकाको निर्णय अनुसार विकासको काम चरणबद्ध रुपले अगाडि बढ्ने बताउँदै वडा नं। ४ मा मात्रै ७५ लाखको बजेट पहिलो चरणमा खर्च भइरहेको बताए ।
दलित महिला अधिकार मञ्चका कार्यकारी निर्देशक सावित्रा घिमिरेले हिंसापीडित महिलाहरूको न्यायमा पहुँच नभएसम्म समाजमा शान्ति स्थापना हुन नसक्ने बताइन् । उनले महिलालाई हिंसामूक्त वातावारणमा बाँच्न पाउने वातावरणको सृजना गर्न जनप्रतिनिधिसँग आग्रह गरिन् ।