महिला हिंसा विरुद्धका सवालमा न्यायिक समितिसंग अन्तरक्रिया


अत्तरिया, जेठ ९ । कैलालीको गोदावरी नगरपालिका–१ मा महिला हिंसा विरुद्धका सवालमा न्यायिक समितिसंगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ओएसएफको सहयोग र दलित महिला अधिकार मञ्च नेपालको आयोजनामा उक्त एक दिने अन्तक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै न्यायिक समितिका संयोजक तथा गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले नगरभित्र हुने महिला हिंसाका विरुद्धमा न्यायिक समिति जहिले पनि अगाडि बढिरहेको बताइन् । विभिन्न क्षेत्रबाट न्यायका लागि नगरपालिकामै धाउनु पर्ने देखिएकाले ३/३ वटा वडाहरुलाई मिलाइ पाइक पर्ने वडाहरुमा एउटा मेलमिलाप केन्द्रको व्यवस्था गरिएको उनको भनाइ छ ।
नगरपालिकाले बनाइरहेको कार्यविधि संसोधन गर्दा महिलाको हकमा विचार, राय र सुझाब सल्लाहलाई समेटेर लैजाने बताउँदै उनले २०७५ साल साउनदेखि ०७६ जेष्ठसम्ममा न्यायिक समितिमा जम्मा ६५वटा मुद्धा दायर भएको बताइन् ।
जसमा ५९ वटा मुद्धा फछ्चौट भएका छन् । भने ६ वटा मुद्धा प्रक्रियामा रहेका छन्। जसमध्ये जग्गा सम्बन्धीका ३१ वटा, घरेलु हिंसा सम्बन्धमा १७ वटा, लेनदेन सम्बन्धमा ४ वटा, खोजतलास सम्बन्धी सिफारिस एउटा, सम्बन्ध विच्छेद सम्बन्धीको एउटा, बाटो सम्बन्धी ७ वटा, कुटपिट गालिलौज सम्बन्धी २ वटा र अन्य २ वटा मुद्धा दायर भएका थिए।
सावित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर २, ५ र ७ का वडाअध्यक्षलगायत ४९ जनाको सहभागीता रहेको थियो ।
सुदूर खबर बाट साभार