गोदावरी नगरपालिका वडा नं. ११ मा सय छाउगोठ भत्काइयो

अत्तरिया, बैशाख २४ । कैलालीको गोदावरी नगरपालिका वडा नं ११ मा छाउपडी कुप्रथाको अन्त्यका लागि यहाँ बनाइएका एक सय छाउगोठ भत्काइएको छ ।
दलित महिला अधिकार मञ्च नेपालको समन्वय र गोदावरी नगरपालिका ११ नम्बर वडा कार्यालय ओलानीको अग्रसरतामा छाउगोठ भत्काइएको हो । शुक्रबारदेखि सोमबारसम्म छाउपडी कुप्रथा उन्मुलन तथा छाउपडी गोठ मुक्त अभियान सुरु गरिएको थियो।
महिलाहरू महिनावारी भएको बेलामा घरमा देवता रिसाउने डरले घर बाहिर गोठमा राख्ने प्रचलनले जरो गाडेर बसेकाले यसलाई जरैदेखि उन्मुलन गर्न अभियान नै चलाएको गोदावरी नगरपालिका वडा नं ११ का वडाअध्यक्ष शिव विकले जानकारी दिए।
घरमुलीको सहमतिमा छाउगोठलाई भत्काइरहेको उनले बताए । सम्झाई बुझाइ गर्दा पनि कुनै घरमुलीले अटेरी गरेमा वडाबाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरु रोक्का गरिने उनको भनाइ छ ।
यो अभियान ११ नम्बर वडामा मात्र नभई गोदावरी नगरपालिकाका सम्पूर्ण वडाहरुमा संचालनमा गरिने गोदावरी नगरपालिकाका उप प्रमुख रत्ना कडायतले बताइन् । उक्त अभियानमा ११ नम्बर वडा स्वास्थ्य स्वयमसेविका वडाबासीको सहभागिता रहेको थिए ।
सुदुर खबर अनलाईन बाट साभार