Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

महिलाका क्षेत्रमा उदाहरणीय काम गर्ने जैरुको सोच

  November 15, 2017

 

कैलाली,
“सानो कपडा तथा सिलाई पसलबाट आफनो घरखर्च चलाउथे, गौरीगंगा नगरपालिका २ चौमालाकी ३३ वर्षिय जनप्रतिनीधि सुनिता जैरुले सम्झिदै भनिन, आम्दानीको स्रोत थिएन ” । उनका श्रीमान राजेन्द्र जैरु पनि सोही पसलमा नै कपडा सिलाउछन । चौमाला पुरानो बजारमा रहेको सिलाई पसलबाटै उनीहरुको ५ जनाको परिवार पालिएको छ ।
कक्षा ८ सम्म पढेकी सुनिता जैरु गाउंमा हुने हरेक क्रियाकलाप तथा सामाजिक कार्यमा संग्लन हुदै आएकी थिईन । महिलाका क्षेत्रमा दलितका विषयमा काम गर्न वकालत गर्न उनी निकै मन पराउछिन । यति मात्र हैन समुदायमा भएका हरेक कार्यमा उनी सहभागि हुने गर्थिन र कहिलेकाही उनकै नेतृत्वमा पनि समाजिक कार्यहरु हुने गर्थे । दलित महिला अधिकार मंच नेपाल द्धारा संचालित हरेक कार्यक्रममा विगत ४ वर्ष देखी महिला सचेतना समुहमा आबद्ध थिर्ईन भने एक वर्ष यता सो समुहको अध्यक्ष भएर काम गरिन । जसले गर्दा उनलाई सामाजिक तथा राजनितीक क्षेत्रमा काम गर्ने थप प्रेरणा मिल्यो ।
बीस वर्षपछि हुन गईरेको स्थानीय चुनावमा भाग लिने सोच बनाईसकेकी थिईन जैरुले । त्यसैमाथि दलित महिला अधिकार मंचले पनि दलित महिलाहरुलाई मध्ये नजर गर्दै राजनीतिमा पहुच पुर्याउने उदेश्यले कार्यक्रमहरु गरिरहेको थियो । यसबाट उनलाई थप साहस र मनमा आट जागेकोे जैरुले बताईन, म पनि दलित महिलाको लागि केही गर्न सक्छु लाग्यो । आफू जित्नेमा विश्वस्त थिईन जैरु । घरपरिवार संग सल्लाह गरिन । परिवारले पनि निकै सहयोग गरेको उनी भन्छिन मेरो श्रीमान,जेठाजु,जेठानीले निकै सहयोग गर्नुभयो । चुनाबमा भाग लिने कुरा त भईसकेपछि पैसा कसरी जुटाउने भन्ने चिन्ताले पिरोलिरहन्थ्यो जैरुलाई ।
चुनाबका बेला खर्च पनि धेरै लाग्ने पो होकी भन्ने पनि लागेको थियो । आफू संग पैसा थिएन । पार्टीमा २० हजार रुपैया धरौटी राख्न पर्ने कुरा वडाध्यक्षले भनेका थिए । सबैले मिलेर पैसा उठाउनुपर्छ भन्ने कुरा आएपछि उनले छिमेकी संग एक सयको तीन रुपैयाका दरले व्याजमा ऋण काढिन । पैसा लाग्ने कुरा थाहा पाएपछि जेठाजु भिमसेन जैरुले दलित महिलाका लागि कत्ति पनि पैसा नलाग्ने र नदिने कुरामा अडान लिए । त्यसपछि पैसा पनि लागेन । चुनाबी प्रचारका बेला चिया नास्ता बाफत भनेर लगभग १०̸१५ हजार रुपैया मात्र खर्च भयो । मैले एक रुपैया पनि कसैलाई दिईन जैरुले बताईन । थोरै खर्चमा चुनाब लडे र जीते पनि । उनी थप्छिन निकै खुसी लागेको छ । आगामी दिनमा महिलाका क्षेत्रमा उदाहरणीय काम गर्ने उनको सोच छ ।
यो जितको पछाडि सबैको उतीकै सहयोग रहेको जैरुको भनाई छ । अहिले नगरपालिकामा महिलाका लागि कार्यक्रमहरु चाहियो भनेर लड्ने गर्छिन । महिला,दलित महिला अपाङ्ग,छाउपडि प्रथा हटाउन र सिपमुलक तथा जनचेतनामुलका कार्यक्रमहरुको योजना पेश गरेको उनले बताईन । यति मात्र हैन महिला हिंसा न्युनिकरणका तथा उनीहरुलाई न्याय दिलाउनका लागी विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु ल्याउने जैरुको योजना छ ।
यति धेरै योजनाहरु बनाएको बताउने जैरुले क्षमता विकास तालिम तथा सम्बन्धित विषयका बारेमा ज्ञानसीप नहुदा निकै गाह्रो हुने गरेको बताउछिन । उनी भन्छिन् नगरपालिकाका भएका र आएका योजनाका विषयमा जानकारी हुदैन । केही तालिमहरु त नगरपालिकाले पनि दिएको थियो । जैरु गौरीगंगा नगरपालिका २ की दलित महिला वडा सदस्य हुन ।